२१ बैशाख २०८१, शुक्रबार
Follow Us

धनगढीमा बम विष्फोट, ५ घाइते

sarusaru
३ श्रावण २०७६, शुक्रबार ०२:२१

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझ बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा ‘टिफिनमा राखिएको बस्तु’ विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरीले डिसी नेपाललाई जानकारी दिए ।

उनले घटना नियोजित नभई आकस्मिक भएको हुन सक्ने बताए । तर, यो घटनामा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

विष्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा ठेगाना नखुलेका जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएको छ । घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते सबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

घटनास्थलमा रहेका प्रहरीका अनुसार विष्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । एसपी गिरीले पेस्तोल फेला परेको पुष्टि गरे ।
डिसी नेपाल