२३ बैशाख २०८१, आईतवार
Follow Us

बेलायती मोडलमा सांसद डा. सूर्य पाठकको ‘घुम्ति सर्जरी’ !

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७६, बिहीबार १२:४४


लण्डन । गतवर्ष वेलायत भ्रमणमा आएका बाग्लुङ्ग क्षेत्र नम्बर १ का सांस डा. सूर्य प्रसाद पाठकले वेलायती संसदको अवलोकन गरे ।

वेलायती सांसदहरुको भूमिका बारेमा अध्ययन गरेका पाठकले जनतासंग वेलायती सांसदको सम्वन्धका वारेमा चासो राखेका थिए । डा. पाठकसंगै वेलायतस्थित संसद भवनमा पुगेका केही नेपाली मिडियाकर्मी वेलायती सांसदले आफ्नो निर्वाचन क्षेत्रमा संचालन गर्दै आएका ‘सांसद सर्जरी’ को विषयमा जानकारी गराए ।

  
सांसद सर्जरी वेलायती जनताले समस्या पर्दा र आफ्ना गुनासाहरु लिएर जाने सांसदको कार्यालय हो । जहाँ जनप्रतिनिधी र सांसद बीच प्रत्यक्ष सम्वाद हुन्छ ।
सांसद पाठकले देशको भौगोलिक अवस्था र साधान स्रोत अनुसारको नेपाली मोडलमा अहिले ‘सांसद सर्जरी’ जस्तै जनतासंग जनप्रतिनिधि कार्यक्रम अन्तरगर्त घुम्ति सेवा शुरु गरेका छन् ।

नेकपा बागलुङ नगर समितिले बागलुङ नगरपालिका–१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ ।
पाठकले सो अभियानमा लागेर गाउँगाउँमा पुगेर जनताका गुनासा सुनेका छन् । पाठकले जनतालाई धैर्य गर्न र विकासको अनुभूति हुने गरि सरकारले काम गर्दै गरेको वताएका छन्।

वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वास समेत लिइएको छ ।


“चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ”, पार्टी नगरसमितिका अध्यक्ष धन बहादुर परियारले बताए ।

गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ ।

बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भएका छन् ।
बागलुङ, काठेखोला, जैमुनि नगरपालिका र बरेङ् गाँउपालिकामा सो अभियान लिएर जाने पाठकको तयारी छ ।

कार्यक्रमा प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् । 


कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् ।