१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा निर्वाचन प्रक्रिया सुरु, निर्वाचन माघ ९ गते

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७६, बिहीबार ०४:५३

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीमा आजै अपरान्ह ४ बजेसम्म दावी विरोधको समय तोकिएको छ ।

आयोगले शुक्रबार उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेदवारी मनोनयन भने आइतबार हुनेछ । मनोनयन दर्ता गरेका उम्मेदबारहरुमाथि उजुरीका लागि २१ गतेको समय निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली भने २५ गते प्रकाशित हुनेछ ।

निर्वाचन चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ । निर्वाचन भने माघ ९ गते सातवटै प्रदेशका तोकिएका मतदान केन्द्रमा हुनेछ । प्रदेश १ को वीरेन्द्र सभागृह विराटनगर, प्रदेश २ को महेन्द्र नारायण स्मृति भवन धनुषा र प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा भवन मतदान केन्द्र तोकिएको छ ।

गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्र भवन, कर्णाली प्रदेशको सुर्खेत निर्वाचन कार्यालय भवन र सुदूरपश्चिम प्रदेशका लागि डोटीको पद्म पब्लिक मुक्तिनारायण माविलाई मतदान केन्द्र निर्धारण गरिएको छ ।