३१ बैशाख २०८१, सोमबार
Follow Us

कांग्रेस जिल्ला सभापतिको भेलामा को-को गए ?

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७६, सोमबार १७:००

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

भेलामा ४० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गराएका थिए ।

सभापति देउवाका एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो । भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्री प्रकाशमान सिंहलगायत पौडेल पक्षका नेताहरु सहभागी छन् ।

भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने बताइएको थियो । तर, सोमबार अपराह्नसम्म सिटौला र उनी पक्षका जिल्ला सभापतिहरु सहभागी भएका छैनन् । भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् ।

भेलामा सहभागी धादिङ कांग्रेसका सभापति रमेश धमलाले विधि र विधानविपरीतका निर्णय फिर्ता, पार्टीलाई विधि–विधानअनुसार चलाउन र आगामी महाधिवेशनको सुनिश्चितताको लागि सभापतिको भेला भइरहेको दाबी गरे । कतिपयले गुटगत भेला र पार्टीभित्रको विवाद आगामी महाधिवेशन आफ्नो पक्षमा पार्ने रणनीतिको रुपमा यसलाई लिएका छन् ।

तर, कांग्रेसका रोल्पा जिल्ला सभापति अमरसिंह पुनले सभापति देउवाले इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशन कार्यतालिका तोक्ने र विधानका दफा निलम्बन गर्ने काम गरी गलत नजिर स्थापित गरेको भन्दै नेतृत्वलाई सच्याउन दबाबस्वरुप भेला भएको जिकिर गरे ।