२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दिलिपलाई कोखामा रडले घोचेर घाइते पारी सुताएर माथिबाट टिपर चलाइयो

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ०४:१५

जनकपुर । शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओमप्रकाश महतोको हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले ४ जनालाई पक्राउ गरेपछि उनको हत्या भएको नयाँ तथ्य फेला परेको हो । प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको रडले कोखामा घोचेर घाइते पारी सुताएर माथिबाट टिपर चलाएको पक्राउ परेकाहरुले बयान गरेको प्रहरीले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ बस्ने राम जीवन महतोको २४ बर्षिय छोरा दिलीपले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खवर पाएलगत्तै रोक्न गएका उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यही खोलामा सँचालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सँचालक वर्ष २७ का विपिन कुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३४ का मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका वडा नं. २ बस्ने बर्ष २४ का जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका वडा नं. २ बस्ने बर्ष २७ का रोशन कुमार यादव छन् ।

दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलिप १६ पुसमा विदामा घर आएका थिए । उनी पछिल्लो ५ वर्षदेखि समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएका थिए ।