३ मंसिर २०८२, बुधबार
Follow Us

पूर्णबहादुर खड्काले भने : ‘देउवा दम्पतीसँग सम्पर्कमै छु, स्वास्थ्य सुधारोन्मुख छ’

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८२, बुधबार १४:३८

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् । साथै, उनले आफू निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले देउवा दम्पतीको उपचार कहाँ भइरहेको छ भन्नेबारे केही खुलाएनन् । सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन ।

गत २४ भदौमा जेन जेडको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो । कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।

पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो । ‘हामी केही समयभित्र सभापतिज्यूसँग परामर्श गर्दैछौं । सभापतिज्यूको स्वास्थ्य सुधार भइरहेको छ । म उहाँसँग फोनमा सम्पर्कमा छु,’ खड्काले भने, ‘आरजु देउवासँग पनि सम्पर्क भइरहेको छ । उहाँको पनि स्वास्थ्य सुधार भइरहेको छ ।’

खड्काका अनुसार, उनीहरूलाई थप उपचारको आवश्यकता छ । ‘थप उपचारको आवश्यकता छ । चिकित्सकहरूले हेरिरहनुभएको छ,’ उनले बिहीबार सानेपामा भने । पार्टीमा सल्लाह गरेर थप केही कुरा बोल्ने र योजनाबद्ध तरिकाले अघि बढ्ने खड्काले बताएका छन् ।

‘हामी सरसल्लाह गरेर, पार्टीको बैठक गरेर थप केही कुरा बोल्छौँ र योजनाबद्ध तरिकाले अघि बढ्छौँ,’ खड्काले भने ।

धेरै पढिएको