१५० वर्षको पुरानो इतिहास बोकेको घर खरानी
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल सिर्जना गर्न आह्वान गरेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी गत भदौ २३ गते सडकमा उत्रिएका जेन–जी पुस्ताका हजारौँ युवाको शान्तिपूर्ण आन्दोलनमा सरकारको बर्बर दमन देखेर आफू विचलित भएको पनि महतोले स्मरण गराएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. महतोले अनाहकमा ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफू नेतृत्वको नेपाल मेडिसिटी हस्पिटलमा घाइतेहरूको निःशुल्क उपचार गराएको पनि स्मरण गराएका छन् ।
उनले भनेका छन्,‘केही युवा अझै पनि उपचाररत छन् । त्यस्तो सङ्कटको बेला हामीले जे सम्भव थियो, त्यो गर्ने प्रयास गरिनै रहेका थियौँ । भोलिपल्ट काठमाडौँ र क्रमशः देशैभरि जुन हिंसात्मक ताण्डव भयो, त्यो जेन–जी प्रतिनिधित्व गर्ने सचेत युवाको आन्दोलन त कदापी थिएन, त्यो हिंसाको हुण्डरीमा संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतजस्ता राज्यका संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरूलगायतका थुप्रै अत्यावश्यक भौतिक संरचनासँगै हाम्रो घरजस्ता असङ्ख्य निजी निवास पनि तहसनहस भए । मेरो परिवार केही मिनेटले बाँच्न सफल भयो।’
डा. महतोले वातावरण अलि सग्लिएपछि यो विध्वंसको पनि छानबिन हुने र दोषीले सजाय पाउलान् भन्ने आशा राखेका छन् ।
तर, कोभिड महाव्याधिपछि तङ्ग्रिन लागेको मुलुक यो घट्नापछि दसकौँ पछाडि धकेलिएको महतोको भनाई छ । उनकाअनुसार यसको प्रभाव जेन–जीकै जीवनमा पनि अत्यन्त नकारात्मक ढङ्गले पर्नेमा कुनै सन्देह छैन ।
महतोले आफू तत्कालीन सोभियत सङ्घ र पछि रुस, बेलारुसमा उच्चशिक्षा हासिल गरेपछि उतै व्यवसायमा रमाएको, र केही मिहिनेत, केही भाग्य र केही संयोगहरूले व्यवसाय सफल हुँदै गएको पनि स्मरण गराएका छन् ।
उनले भनेका छन्,‘म सिराहाको एउटा पिछडिएको गाउँमा जन्मे, हुर्केको मान्छेलाई ईश्वरको अनुकम्पाले त्यहाँसम्म पुर्यायो र जीवनमा अगाडि बढ्ने सुनौलो अवसर दिलायो । तर यता आफ्नो मातृभूमि भने अकल्पनीय द्वन्द्वमा फस्दै गएको थियो । माओवादी आन्दोलनको प्रभवले हाम्रो अर्थतन्त्र जर्जर हुँदै गयो । नेपाली भन्ने बित्तिकै विदेशमा हामीलाई शङ्काको नजरले हेर्ने प्रवृत्ति बढेर गयो । हरियो पोसपोर्ट देख्ने बित्तिकै विमानस्थलहरूमा हेपिएका अनगिन्ती अनुभव भोग्दै जाँदा आफ्नो देश अभाव र विपन्नतासँग जुधिरहुञ्जेल व्यक्तिगत समृद्धिको खासै अर्थ नहुने रहेछ भन्ने अनुभूति घनिभूत हुँदै गयो ।’
संसारभरि छरिएर रहेका नेपालीहरूलाई संगठित गरेर नेपालको निर्माणसँग जोड्न सकियो भने तिनको सामूहिक योगदानले देशको शान्ति र समृद्धिमा गतिलो भूमिका खेल्न सक्छ भन्ने लागेर केही असल साथीहरूसँग मिलेर गैरआवासीय नेपाली (एनआरएनए) अभियान सुरु गरेको पनि उनले स्मरण गराएका छन् ।
महतोले विदेशमा ठूल्ठूला अवसर हुँदाहुँदै वा आफ्ना लागि जहाँ पनि अवसरको सिर्जना गर्न सक्ने क्षमता भएर पनि आफूले कहिल्यै विदेशमा स्थायी रूपले बस्ने नसोचेको प्रष्ट पारेका छन् ।
उनले विज्ञप्तिमार्फत थप भनेका छन्,‘संसारका अरू डायस्पोराझैं मलाई पनि आफ्नै देश समृद्ध भएको हेर्ने चाहना छ । त्यसैले सधैँ नेपाली नागरिकता र हरियो पासपोर्ट नै बोकिरहेँ । मेरी जेठी छोरी विदेशमा उच्चशिक्षा हासिल गरेर नेपाल फर्किसकेकी छिन् । अर्की छोरी र छोरा पनि दिदीकै पदचापलाई पछ्याउने छन् । तिनले नेपाली भएर बाँच्ने र नेपालमै केही गर्ने संस्कार सिकेका छन् । विगत केही दिनका घट्नाले तिनलाई अवश्य दुःखी बनाएको छ । तर, त्यो क्षणिक हुनेछ भन्नेमा मलाई किञ्चित आशङ्का छैन ।’
आफ्नो घर जलाइएको घटनाले मर्माहत भएर विश्वका धेरै देशमा बसोबासरत नेपाली साथीहरूले फोन गरिरहेको उल्लेख गर्दै महतोले भने,‘धेरैले नेपालमा लगानी गर्नुभएको छ, सुरक्षाको चिन्ता हुनु स्वाभाविक नै भयो । म उहाँहरूलाई भन चाहन्छु कि धेरै राष्ट्रको इतिहासमा यस्तो भएको छ, हुन्छ । मैले त अझ सोभियत सङ्घको अवसानसँगैको कहालीलाग्दो सङ्क्रमण भागेको छु । यसबाट हतोत्साहित नभई निर्धक्क भएर नेपालमा अझ धेरै लगानी लिएर आउनुहोस् । हाम्रा महत्त्वपूर्ण संरचनाहरुको फेरि सिर्जना गर्नुपर्नेछ, अझ जुर्मुराएर उठ्नु छ । नेपाल हाम्रो घर हो, देशलाई तपाईंको झन् धेरै खाँचो छ । नेपालको प्रगति नभई तपाईंको व्यक्तिगत समृद्धि अर्थहीन हुने रहेछ भन्ने कुरालाई त्यतातिर मौलाउँदै गएको पपुलिज्म र जेनोफोवियाले झन् पुष्टि गरेको छ । जेन–जीले परिकल्पना गरेको समृद्ध नेपालमा शान्ति र विधिको शासन स्थापित हुनेछ भन्नेमा विश्वास गरौँ । देशभित्र र बाहिर रहेका सबै नेपालीहरूले हातेमालो गरेरमात्र सुरक्षित, समृद्ध र सुन्दर नेपालको सृजना हुनेछ ।’
जेन–जी आन्दोलनको क्रममा डा. महतोको १५० वर्षको पुरानो इतिहास बोकेको घर खरानी भएको छ । महतोले भनेका छन्,‘सन् २००६ मा सहदेव शमशेर राणासँग खरिद गरी आफू र आफ्नी धर्मपत्नी डा. समता प्रसादले बडो जतनले पुनर्निर्माण र संरक्षण गरेर राखेको करिब १५० वर्ष पुरानो घर खरानी भएको छ । मलाई त्यसरी भष्म भएर सिद्धिएको घरभित्र जलेका हजार सपनाहरूको असाध्यै माया लागिरहेको छ ।’
महतोले त्यो घर आफ्नो जीवनको सङ्घर्ष, प्रगति र दुःख–सुखकाको साक्षी रहेको भनेका छन् । उनले अघि भनेका छन्,‘त्यो घर मेरो सङ्घर्ष, प्रगति र दुःख–सुखको साक्षी थियो । मेरा दुई छोरीहरू र छोराको बाल्यकालको हाँसो र रोदनको गुञ्जनले भरिएको त्यो घरमा अब ढल्न लागेका केही भित्ता र डढिरहेका सम्झनाहरूको दुर्गन्ध मात्र बाँकी छ । वास्तवमा, त्यो केवल मेरो परिवारको सम्पत्ति मात्र थिएन, आफ्नो ऐतिहासिक महत्त्व र वास्तुकलाका हिसाबले देशकै धरोहर थियो । त्यहाँ धेरै फिल्महरूको सुटिङ भएको छ । एउटा रुसी टिभी च्यानलले त नेपालको अन्य सुन्दर सम्पदाहरूसँगै त्यो घरलाई पनि अत्यन्त आकर्षक भवनको रूपमा आफ्नो देशमा प्रस्तुत गरेको थियो । त्यो सौन्दर्य खरानी भएर हावामा उडिरहेको देख्दा जलेको घरसँगै आफ्नो एउटा अंश पनि जलेको आभास हुँदो रहेछ । घर त फेरि पनि बनाइला, तर त्यस्तो घर अब कहाँ बन्छ र ? हामीसँग न त्यो प्रविधि छ, न त ती शिल्पीहरू छन् । मेरो जीवनका थुप्रै उतारचढाव देखेको हाम्रो घर अब त्यसभित्र हुर्किएको हाम्रो पारिवारिक स्नेह, मीठो सम्झना र थुप्रै रमाइला भेटघाटको स्मृतिमा सीमित भएको छ ।’