२१ बैशाख २०८१, शुक्रबार
Follow Us

युक्रेनी विमान खसालिएको घटनासँग सम्बन्धित सयौं पक्राउ

नेपालब्रिटेन संवाददाता
१ माघ २०७६, बुधबार ०२:५४

तेहरान । इरानी न्यायालयले इरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनासँग जोडिएका कैयौँ मानिसलाई पक्राउ गरिएको जनाएको छ । इरानका राष्ट्रपति हसन रुहानीले गत साता युक्रेनी यात्रुवाहक विमान खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताएका छन् । उनले एक विशेष अदालतको निगरानीमा त्यसको छानबिनको हुने बताए ।

इरानी न्यायालयका प्रवक्ता गुलामहुसेन इस्माइलीले युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनाको अनुसन्धान जारी रहेको बताए तर उनले त्यसबारे थप जानकारी दिएनन् ।

युक्रेनियन इन्टरनेशनल एअरलाइन्सको पीएस ७५२ उडान गत बुधवार तेहरानबाट उडेलगत्तै खसालिएपछि त्यसमा सवार सबै एक सय छयहत्तर जनाको ज्यान गएको थियो ।

सुरुमा इरानले त्यो विमान खसालिएको भन्ने विवरण अस्वीकार गरे पनि पछि प्रमाणहरू जुट्दै गएपछि त्यो विमानमा क्रुज मिसाइल प्रहार गरिएको तथ्य बाहिरियो । त्यो विमान खसाल्न आफू जिम्मेवार रहेको इरानी खुलासापछि इरानमा सरकारी झूटको विरोधमा प्रदर्शनहरू चर्किएका छन् ।