२० बैशाख २०८१, बिहीबार
Follow Us

एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड खेल पत्रकार ओलीलाई

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७६, मंगलवार ०४:२०

काठमाडौं । वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जित्नुभएको छ । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उहाँले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गर्नुभएको हो ।

हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उहाँले रु नौ लाख राशिको सो पुरस्कार हात पार्नुभएको हो । उहाँ अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हुनुहुन्छ । एआइपीएसमा अवार्ड जित्ने उहाँ नेपालको पहिलो पत्रकार बन्नुभएको छ । डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ ।

पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन’् शीर्षकमा समाचार सम्प्रेषण गर्नुभएको थियो । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पर्नुभएको थियो । ओलीले लेख्नुभएको समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको थियो । उक्त अवार्डले नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो । नेपालमा अनावश्यकरुपमा खेलकूद सङ्घहरु स्थापना गरिँदै आएको विषयवस्तुलाई पत्रकार ओलीले आलेखमा उजागर गर्नुभएको थियो । उहाँले उक्त समाचार १५ दिनभन्दा बढी समय खर्चेर तयार पार्नुभएको थियो ।

इन्टरनेशनल स्पोर्टस प्रेस एशोसिएशन (एआइपीएस) विश्वभरका खेलकूद पत्रकारको सर्वोच्च संस्था हो । एआइपीएसमा १६१ देशका खेलकूद पत्रकार सङ्घ आबद्ध छन् । नेपाल खेलकूद पत्रकार मञ्च उक्त एशोसिएशनमा आबद्ध छ । आइएसपीएले गत वर्षदेखि ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उत्कृष्ट तीनभित्र पर्नुभएका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उहाँका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेख्नुभएको थियो । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिसमा हुने गरेको म्याच फिक्सिङबारे समाचार लेख्नुभएको थियो ।