६ बैशाख २०८१, बिहीबार
Follow Us

एनबिसी युकेले दशौँ वार्सिकोत्सव मनाउने

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७६, शुक्रबार २३:४०

लन्डन । लण्डनस्थित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेले आफ्नो स्थापना दिवस मनाउने भएको छ ।
संस्थाले आउँदो मार्च २२ तारिखका दिन दशौँ वार्सिकोत्सवको अवसर पारेर ‘समर्पण साँझ २०२०’ नामक एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।

एनबिसी यूकेद्वारा विहीबार सांझ लण्डनमा एक पत्रकारको आयोजना गर्दै सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बालबालिकाहरुको आवास गृहको सहयोगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको हो ।
ग्रिनफोर्ड टाउनहलमा आयोजना हुने १० औं वार्षिकोत्सव समारोहबाट संकलित रकम परोपकारी काममा खर्चिने संस्थाका अध्यक्ष मिलन घिमिरेले जनाए ।

विभिन्न अपाङ्गता भएका २३ जाना बालबालिकाहरुलाई सुत्ने, बस्ने र पढ्ने बातावरण मिलाउने उद्देश्यले कार्यक्रमको सो च्यारटिी कार्यक्रमको आयोजना गर्न लागिएको एनबिसीले जनाएको छ ।


एनबिसीले नेपालमा द्वन्दपिडित बालबालिकाहरुको लागि आवासगृह, दाङ्गमा अध्ययनरत दृष्टीबिहिन बालबालिकाहरुको लागि सहयोग, सिमान्तकृत कान्धाका चेपाङ बालबालिकाहरुको लागि आवासगृह, भूकम्प पिडितलाई सहयोग गरेको थियो । पत्रकार सम्मेलनमा संस्थाले विगतमा गरेका परोपकारी कामको बारेमा सचिव चुरामणि रेग्मीले जानकारी गराएका थिए ।

मानवीय सेवाको लागि आयोजना गरिएको उक्त च्यारिटी कार्यक्रममा निर्देशक एवं रंगकर्मी सनम कुमार बैराग्को संयोजकत्वमा स्थानीय कलाकारहरुद्वारा सांगीतिक कार्यक्रम प्रस्तुती दिने आयोजकले जनाएको छ ।

बेलायतमा कृयाशिल सम्पूर्ण संघसँस्था, नागरिक समाज, डाक्टर, वकिल, ईन्जिनियर तथा सबै वुद्धिजीवीहरु लगायत सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागि भएर सहयोग गरिदिनको लागि एनबिसी यूकेका समिरनाथ प्याकुरेलले अनुरोध गरे ।

सो कार्यक्रमका लागि प्रति व्यक्ति ५० पाउण्ड प्रवेश शुल्क निर्धारण गरिएको कोषाध्यक्ष ऋषी खनालले जानकारी दिए । खनालले च्यारीटीका संकलन भएको रकमको पूर्ण रुपमा पारदर्शी हुने जनाए । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष कमल पौडेल लगायतले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

पत्रकार सम्मेलनमा स्थापना दिवसको लागि तयार पारिएको प्रमोशनल भिडियो समेत प्रदर्शन गरिएको थियो ।

संस्थाद्धारा जारी प्रेश विज्ञप्तिको पूर्ण विवरण

हार्दिक अपिल

अपाङ्ग बाल-बालिकाको लागि समर्पित – समर्पण साँझ २०२०

नेपालबाट विभिन्न परिवेशमा बेलायतमा आई आफ्नो कर्मथलो बनाएर बसेका सम्पूर्ण नेपालीहरुलाई एउटै छहारीमुनि गोलबन्द गराई आपसमा हार्दिकता, सौहार्दता र भातृत्वको बिकास गराउंदै मानवीय र सामाजिक सेवाको कर्ममा कुनै पनि क्षेत्र, जाती, भाषा, धर्म, पेशा र राजनीतिले ब्यबधान नल्याओस भन्ने ध्येय राखी सबै बस्न र अटाउन सहज होस् अनि नाम र कामबाट यसको पहिचान र गौरव झल्कियोस भन्दै हाम्रो साझा संस्था नेपलिज ब्रिटिश कम्यूनिटी यूके (NBC-UK) को जन्म भएको थियो । आज हाम्रो मुटुमा बस्न गएको यो संस्था आफ्ना दश बसन्तहरु पार गरिसक्दा हाम्रो समाजमा एक छुटै पहिचान स्थापना गर्न सफल भएको छ । सामुहिकतामा बिश्वास राख्दै सबैको अपनत्वलाई उच्च सम्मान गर्दै यो संस्था बेलायती नेपाली डायस्पोरामा एक कृयाशिल संस्थाको रुपमा स्थापित भएको छ ।

यस संस्थाले बेलायतमा विभिन्न कल्चरल कार्यक्रमहरुको साथसाथै बुबा-आमाहरुको लागि अंग्रेजी शिक्षा तथा बाल-बालिकाहरुको लागि नेपाली भाषा शिक्षाको माध्यमबाट निरन्तर सहयोग गर्दै आउनुको साथसाथै नेपालमा द्वन्दपिडित बाल-बालिकाहरुको लागि आवासगृह, दाङ्गमा अध्ययनरत द्रिस्टिबिहिन बाल-बालिकाहरुको लागि सहयोग, सिमान्तकृत कान्धाका चेपाङ बाल-बालिकाहरुको लागि आवासगृह, भूकम्प पिडतलाई सहयोग, बाढी पिडित सहयोग लगायतका विभिन्न सहयोगमुलक कृयाकलाप प्रति गौरवान्वित हुँदै यसपटक सहयोग गर्न सुर्खेत पुग्ने भएको छ ।

लण्डन कविता कन्सर्ट लगायत विभिन्न उच्च स्तरको कार्यक्रम दिन सफल भैसकेको हाम्रो संस्थाले १०औं बार्षिकोत्सब को उपलक्ष्यमा आउँदो कार्यक्रम अपाङ्ग बाल-बालिकाहरुको लागि समर्पित हुँदै “समर्पण साँझ २०२०” अत्यन्तै बिशेष तयारीका साथ सम्पन्न गर्ने तैयारीमा रहेको छ । अत्यन्तै फरक ढंगले संचालन हुन गैरहेको यो कार्यक्रम बेलायतमा हरेक हप्ता भैरहने कार्यक्रमहरुको मार्गदर्शक हुनेछ । गीत, संगीत, नाटक, नाचगान, कमेडी लगायतका विधाहरुलाई एकैसाथ समेटिएको यस Non-stop entertainment कार्यक्रमले नेपाल र नेपाली कल्चरको उच्च सम्मान गर्दै लगातार मनोरंजन दिने कुरामा हामी प्रतिबद्ध छौं । बेलायतमा रहेका बिशिस्ट कलाकारहरुको प्रस्तुति समेत रहेको यो कार्यक्रमको मनोरंजन पाटोको निर्देशन सुप्रसिद्ध तथा सुपरिचित निर्देशक श्री सनम कुमार बैराग ज्यूले गर्दै हुनुहुन्छ ।

बिल्कुलै नितान्त मानविय कार्यको लागी आयोजित यस कार्यक्रमबाट बचेको सम्पूर्ण रकम सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बाल-बालिकाहरुको आवासको लागि खर्च गरिने छ । विभिन्न अपाङ्गता भएका २३ बाल-बालिका हाल चुहिने छानो मुनि झ्याल-ढोकाबिनाको २ कोठे कक्षा कोठामा अत्यन्तै दयनिय अवस्थामा बस्न बाध्य भएका छन् । यस्तो अवस्थामा गुज्रिरहेका बाल-बालिकाहरुलाई अत्यावश्यक आवश्यकता स्वरुप सुत्ने, बस्ने र पढ्ने बाताबरणको अधिकार स्थापना गर्नु हाम्रो कर्तब्य सम्झेर लागि परेका हौँ ।

आउँदो मार्च २२ तारिक आइतबारका दिन साँझ ६ बजे देखी १० बजे सम्म स्थानीय ग्रिनफोर्ड टाउनहलमा हुन गैरहेको “समर्पण साँझ २०२०” ले दिने मनोरन्जनात्मक आनन्द र यसले पुर्याउने मानवीय सहोगको पक्षलाई हृदयंगम गरी बेलायतमा कृयाशिल सम्पूर्ण संघ-संस्था, नागरिक समाज, डक्टर, वकिल, ईन्जिनियर तथा सबै बुद्धिजिबीहरुलाई कार्यक्रममा सहभागिताको लागी सादर अनुरोध गर्दछौं । समाजका लब्ध प्रतिष्ठीत अगुवाहरु, ब्यबसायिक मित्रहरु सबैलाई सो कार्यक्रममा सहयोग एवं सहभागीता तथा मिडियाका मित्रहरुलाई यस सम्बन्धी समाचार सम्प्रेषण तथा प्रचारमा सहयोगको लागी बिषेश आग्रह समेत गर्दछौं ।

सहयोग एबं समझदारीको लागी हार्दिक धन्यवाद ।

मिलन घिमिरे
कार्यक्रम संयोजक
संयोजक – NBC UK
चुरामणि रेग्मी
सचिब – NBC-UK

२० फेब्रुअरी, बिहिबार, लण्डन