२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कसरी सुल्झिदैछ नेकपाभित्रको विवाद ?

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार ०४:४६

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झने भएको छ । पार्टीको सिफारिसअनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको हो ।

यसअघि गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने पार्टीको सिफारिस आफूलाई अमान्य हुने प्रधनमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएपछि विवाद चुलिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले उपाय सुझाएपछि उनकै पहलमा पार्टीको विवाद साम्य भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएको केही समयमा नै प्रधानमन्त्री ओलीले आफूलाई सो निर्णय अमान्य हुने प्रतिक्रिया वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका थिए ।

त्यसपछि समस्या हलका लागि नेता नेपालले प्रधानमन्त्री ओलीसँग बुधबार साँझ र बिहीबार छलफल गरेका छन् । दुवै दिन उनले गरेको प्रयास अन्ततः सफल भएको छ । नेता नेपालले खतिवडालाई नै अर्थमन्त्रीमा आगामी ६ महिना राख्न सक्ने उपाय सुझाएपछि प्रधानमन्त्री ओलीसमेत उपाध्यक्ष गौतमलाई नै राष्ट्रियसभा सदस्य बनाउन सहमत भएका हुन् ।

पार्टी उपाध्यक्ष गौतमलाई नै राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न आफूले सिफारिस गर्ने तयारी गरेको सूचना पार्टी महासचिव विष्णु पौडेलमार्फत ओलीले शुक्रबार बिहान गौतमसम्म पु¥याएका थिए । त्यससँगै पार्टी अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनालसँग छलफल गरेका थिए । उनले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष गौतम नै मनोनीत हुने बताएका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्डले दुवै अध्यक्षको उपस्थितिमा भएको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्ने बताए ।