२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएसँग सहकार्य गरेर अघि बढ्ने भूपूगोर्खाको प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७६, शनिबार ०६:२५

लन्डन । बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तसँग शुक्रवार बिहान फानवरोमा भएको अन्तक्र्रियामा बोल्ने भूपूगोर्खाहरुका अगुवा नेताहरुले नागरिकताको निरन्तरता, सम्पतिको अधिकारलगायतका विषय भूपूगोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

भूपुगोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूपूगोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै भूपूगोर्खाहरुले समान पेन्सन पाउनु पर्नेमा जोड दिए । उनले संविधानले गैरआवासी नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । तामाङले देशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा लेप्टिनेट कर्णेल एम रानाले भूपूगोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको मुद्दामा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताए । उनले गैरआवासीय नेपाली र भूपूगोर्खाको समस्या समान रहेका बताए ।

कार्यक्रममा भूपूगोर्खा तथा गैरआवासीय नेपाली संघ युकेका निर्वमान अध्यक्ष योगकुमार फगामीले भूपुगोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताए ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको भूपूगोर्खा सम्वन्धी एक समितिका संयोजक चन्द्र गुरुङको संयोजत्वमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङको समेत उपस्थिति थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै संयोजक गुरुङले बेलायतमा रहेका भूपुगोर्खाहरुको हितको लागि संघले प्रभावकारी कार्यक्रम अघि ल्याउनु पर्नेमा जोड दिए । गुरुङले भूपूगोर्खा आन्दोलनमा संघले गरेको सहकार्यको प्रसंशा गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघले भूतपूर्व गोर्खाहरु संघको अभिन्न अंगको रुपमा लिएको वताए ।

शर्माले भूपूगोर्खा र संघका मुद्दा समान भए पनि गोर्खाहरुको मागअनुसार उनीलाई एनआरएनए मान्ने वा छुट्टै क्याटोगरीमा राखेर उनीहरुको माग सम्वोधन गर्ने भन्ने बिषयमा सैद्धान्तिक छलफल गर्न सकिने बताए ।

उनले भूपुगोर्खाहरुको आन्दोलनमा सहकार्य गर्न कार्यदल मार्फत काम थालिएको जानकारी दिए । शर्माले समान माग पुरा गर्न छुटछुट्टै भन्दा एकै भएर गएर गन्तव्यमा पुग्न सकिने तर्क गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूपूगोर्खाहरुको मुद्दालाई राष्ट्रियकरण नगरेसम्म समस्याको समाधान ननिस्कने तर्क गरे । पन्तले बेलायतले भूपुगोर्खा माथि गरेको असमान व्यवहारले सिंग्गो राज्यनै हेपिएको वताए ।

उनले भने, धेरैलाई लागेको छ भुपुगोर्खामाथि असमान व्यवहार गरियो तर यो व्यक्तिमाथि होइन देशमाथि नै भएको अन्याय हो । उनले नेपाली राजनीतिक दलका नेताहरुले समेत यो आन्दोलन बुझ्ने प्रयास नगरको भन्दै उच्चस्तरीय समिति बनाएर संसद, दललगायत सरकारी निकायमा व्यापक छलफल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रिटायर मेजर कृष्णबहादुर गुरुङ, बल गुरुङ, क्याप्टेन बालकृष्ण गुरुङ, तमुधिं युकेका पूर्वअध्यक्ष कमल गुरुङलगायतले आ–आफ्ना भनाइहरु राखेका थिए ।