३१ बैशाख २०८१, सोमबार
Follow Us

सफा नेपालको अभियानमा गैरआवासीय नेपाली

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार १४:५८

भैरहवा । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिले नेपालका विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ । भैरहवामा पत्रकारसँग छलफल गर्दै गैरआवासीय नेपाली सङ्घका सफाइ संयोजक खेम शर्माले पश्चिमदेखि पूर्वसम्मका, दक्षिणदेखि उत्तरसम्मका विमानस्थलको भ्रमण गरी सफाइ अभियान चलाइएको जानकारी दिनुभयो ।

संयोजक शर्माले धनगढीदेखि शुरु भएको विमानस्थलको सरसफाइ अभियान नेपालगञ्ज र शनिबार भैरहवा आइपुगेको र आज पोखरा हुँदै चितवन, सिमरा, जनकपुर, विराटनगरदेखि त्रिभुवन विमास्थलसम्मको अध्ययन अनुगमन गरिने बताउनुभयो ।

उहाँका अनुसार चार स्वरुपअन्तर्गत पहिलो दक्ष र तालीम प्राप्त कर्मचारीको व्यवस्था गरिने, दोस्रो स्वास्थ्य र सुरक्षाका लागि प्राथमिकतामा राखिने, तेस्रो प्रणालीलाई व्यवस्थित गर्ने र अन्तिम सही प्रविधिको प्रयोगलाई अगाडि बढाइने छ । नेपालमा सरसफाइको अभियानलाई अगाडि बढाउन पशुपति मन्दिर क्षेत्र अन्तरराष्ट्रिय विमानस्थल वाग्मती नदी सफाइ र वीर अस्पतालको सफाइ गरेर शुरुआत गरिएको शर्माले जानकारी दिनुभयो ।

अब नेपाल पर्यटन तथा उड्डयन मन्त्रालयसँग सम्झौता र सहकार्य गरेर गैरआवासीय नेपाली सङ्घले विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित बनाउन लागेको सफाइ उहाँले बताउनुभयो ।