काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भएको सात बुँदे सहमतिले राजनीतिक वृत्त तातिएकै बेला रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले नयाँ तरङ्ग सिर्जना गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हरिशरणले काठमाडौँ महानगरपालिकाको आगामी नेतृत्वका लागि आफू अघि बढ्ने सङ्केत गरेका हुन् ।
उनले रास्वपा र मेयर बालेनबिचको हालैको सहमतिलाई ‘दुई भाइको सम्झौता’ भन्दै त्यसप्रति खुसी र सम्मान व्यक्त गरेका छन् । तर, यो सहमतिको स्वागत सँगसँगै उनले आफ्नो राजनीतिक महत्त्वाकाङ्क्षा पनि उजागर गरेका छन् । उनले स्पष्ट शब्दमा भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु ।’