२९ बैशाख २०८१, शनिबार
Follow Us

चिनियाँ राष्ट्रपति सी वुहानमा, स्वास्थ्यकर्मी, जनमुक्ति सेना र विरामीसँग भेटघाट

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७६, मंगलवार ०५:१०

वुहान । चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बिहान कोरोना भाइरसको उद्गमस्थल वुहानको भ्रमण गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान गएका हुन् । उनले वुहानमा भाइरस प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

सो क्रममा उनले स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेटेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कोरना संक्रमितमध्ये ७० प्रतिशत निको भैसकेपछि सी प्रभावित क्षेत्रको भ्रमणमा पुगेका हुन् । सोमबार चीनमा डिसेम्बरबाट संक्रमण फैलिएयताकै सबैभन्दा कम १९ जनामा मात्रै संक्रमण देखिएको थियो । सोमबार १७ जनाको मृत्यु भएको पनि चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

संक्रमण देखिएका ८० हजारमध्ये ६० हजार निको भइसकेका छन् । १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेको छ । संक्रमणबाट ३ हजार एक सय ३६ को मृत्यु भएको छ ।

चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयोग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेकोसङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको हो ।