२४ बैशाख २०८१, सोमबार
Follow Us

बेलायतबाट आएका ५ नेपाली विमानस्थलबाटै फिर्ता

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७६, सोमबार १३:४३

काठमाडौं । बेलायतबाट आएका ५ नेपाली त्रिभुवन विमानस्थलबाटै फिर्ता भएका छन् । सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएकाले उनीहरु विमानस्थलबाटै फिर्ता भएका हुन् ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्ने बेलायतका ५ लगायत ३५ जनालाई सम्बन्धित ठाउँमा नै फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

विमानस्थलबाट फिर्ता हुनेहरुमा फ्रान्सः ६, चीनः ५, बेलायतः ५, जापानः ४, नेदरल्याण्डः ३, इटलीः २, इजरायलः २, चेक रिपब्लिकः २, हङकङः १, अमेरिकाः १, मेक्सिकोः १ अफगानिस्तानः १, अष्ट्रेलियाः १, मलेसियाः १ जना रहेका छन् ।

गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।
अध्यागमनबाट फिर्ता भएका ३५ जनामा धेरै गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलको विदेशी नागरिक हुन् । उनीहरुले भिसा नेपालमै लगाउने भन्दै नेपाल आएको पाइएको छ ।

त्रिभुवन विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले सोमबार दिउँसोसम्ममा ३५ जनालाई सम्बन्धित देशमै फिर्ता पठाइएको बताएका छन् । सरकारले विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।