३१ बैशाख २०८१, सोमबार
Follow Us

भारतमा रहेका नेपाली फर्किन थालेपछि गड्डाचौकीमा थामिनसक्नु भीड

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ११:२१

कञ्चनपुर । भारतले कोरोना भाइरस रोकथामका लागि आइतबार नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको हो ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको प्रहरीले जनाएको छ । आज विहान मात्रै १३ हजार भन्दा बढी मानिस भारतबाट नेपाल प्रवेश गरेका छन् ।

विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ ।

शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन् ।