२१ असार २०८१, बिहीबार
Follow Us

गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार ०४:५१

सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएको अनमी रीता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “ कुनै दिन त सेवाग्राही नै आउँदैनन । के गरेर बस्नु त ? सेवा बन्द गरेर घर जानु भएन ?”
कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ ।

सो चौकीमा पुग्न सवारी साधनको सहज पहुँच छैन । घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन् । स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिनुभयो । चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांशले घरमा नै सुत्केरी गराउने गरेका स्वास्थ्य चौकीको तथ्याङ्कले देखाएको छ ।

सो क्षेत्रको मुख्य बजार लालबन्दी रहेका कारण उपचार चौकीमा सेवाग्राही कम भएको जनाइएको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य चौकी नारायणखोलामा महिनामा बल्लतल्ल ३०-३५ सेवाग्राही आउने गरेका जानकारी दिनुभयो सो स्वास्थ्य चौकीमा अहिले दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी कार्यरत छन् ।

सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ । नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सो सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।