३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपालमा १९ वर्षीया एक युवतीमा देखियो कोरोना संक्रमण, उपचार हुँदै

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७६, सोमबार १२:०५

काठमाडौ । सरकारले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गरेर चैत्र ४ गते एक फ्रान्सवाट कतारको दोहा हुँदै नेपाल आएकी नेपाली युवतीमा संक्रमण भेटिएको जानकारी दिएका हुन् ।

अध्ययनको क्रममा टेकु अस्पतालमा आइतबार गरिएको परीक्षणमा ति युवतीमा संक्रमणको पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेको समयमा रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

युवतीका परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिएको र थप परीक्षण भैरहेको मन्त्रालयले जानकारी दिएको छ । युवती पनि फ्रान्सबाट फर्केदेखि नै होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

नेपालमा संक्रमण भेटिएको यो दोस्रो घटना हो । केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो । उनी भने स्वस्थ भइसकेका छन् ।