२५ बैशाख २०८१, मंगलवार
Follow Us

न्यूयोर्कमा कोरोना संक्रमण तीव्र गतिमा

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ०४:५५

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोरना भाइरस ’बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन् । पत्रकारसँग कुरा गर्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताएका हुन् ।

उनले संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको गुनासो समेत गरेका छन । संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको भन्दै आलोचना गरे । न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको बताइएको छ । न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण भएको छ । कम्तीमा २ सय १० जनाको मृत्य भइसकेको छ ।

न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई अमेरिकाले आगामी दुई सातासम्म स्वयं अलग्गिएर ’सेल्फ क्वारेन्टाइन’मा बस्न भनेको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए ।

अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ न्यूयोर्कका छन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले पनि अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बताएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि डब्लुएचओको यस्तो भनाइ आएको छ । अमेरिकामा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ । सात सयभन्दा बढीको मृत्यु भैसकेको छ ।