२१ असार २०८१, बिहीबार
Follow Us

खाद्यान्न, ग्यास लगायतका पसल नियमित खोल्न सरकारको आग्रह

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ०५:१९

काठमाडौं । गृह मन्त्रालयले अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु नियमित सञ्चालन गरिदिन आग्रह गरेको छ । लक डाउनको पहिलो दिन पसलहरु बन्द भएको गुनासो आएपछि मन्त्रालयले विज्ञप्ती प्रकाशित गरेर यस्तो आग्रह गरेको हो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै खाद्यान्न लगायतका पसलहरु बन्द नगर्न अपिल गरेको हो । पहिलो दिन भएकोले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको गुनासो आएपछि गृहले यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा स्वास्थ्य, सुरक्षा खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक बस्तुहरुको कारोबार बन्द नहुने हुँदा सदा झै निर्वाध रुपमा सञ्चालन गर्न भनिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिने उद्देश्यले जारी गरिएको आदेशको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गरिदिन पनि गृहमन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । ‘लक डाउन’ पहिलो पटक जारी गरिएको आदेश भएको हुँदा केही अन्योलता देखिए पनि समाधान भएको गृहको भनाइ छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले मंगलबारदेखि लागु हुने गरी देशभर एक साता ‘लक डाउन’ गरेको छ ।