२५ आश्विन २०८१, शुक्रबार
Follow Us

‘कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७६, शुक्रबार १९:०६

 

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा प्रसन्न गौतम अहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् । नेपालीहिन्दीअंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता ७५ वर्षीय डागौतमसंग कोरोना संकटका माझ खासगरी वृद्धवृद्धाको स्वास्थ्य स्याहारका बारेमा हामीले कुरा गरेका थियौं । यो कुराकानी नेपाल पत्रकार महासंघ युके शाखाको कोरोना भाइरस सम्बन्धी सचेतना अभियान अन्तर्गत तयार पारिएको हो ।

युकेमा धेरै वृद्धावस्थाका गोरखाहरुले कोरोनाको त्रासका कारण आफूलाई भाडाको घरभित्र सीमित गरिराख्नुभएको छ । उहाँहरुलाई सुरक्षित रहन के सुझाव दिनुहुन्छ ?

म उहाँहरुलाई सरकारले जारी गरेका निम्न सल्लाह पालना गर्न सुझाव दिन्छु । कृपया घर वा कोठाभित्रै बस्नुहोस । कसरत गर्नका लागि दिनको एकपटक बढीमा एक घण्टाका लागि बाहिर जानुहोस् । एक व्यक्ति र अर्को व्यक्तिबीच पाँच हात वा दुई मिटरको दुरी राख्नुहोस् । खानेकुरा वा औषधि किन्न बाहिर जान सक्नुहुन्छ तर सकेसम्म एकदमै कम, हप्तामा एकपटक वा त्योभन्दा कम जानुहोला । सरकारले तोकेबाहेक निम्न कुराहरुले सुरक्षित रहन फाइदा पुग्ने देख्छु । निराशाजनक समाचारहरु सामाजिक सञ्जालमा नहेर्नुहोस्। त्योभन्दा गीत सुन्नुहोस्, रेडियो सुन्नुहोस्, फिल्म हेर्नुहोस् । घरभित्रै सृजनात्मक कार्य गर्नुहोस् । जस्तै नयाँखानेकुरा पकाउनुहोस् । चित्र कोर्नुहोस् । बाजा बजाउनु होस्। गीत लेख्नुहोस् । कविता, लेख लेख्नुहोस् । बुन्ने, सिउने, घरको काम सघाउने, चुटकिला भन्ने गर्नुहोस् । दैनिक ८ घण्टाभन्दा धेरै सुत्नुहोस् । प्रशस्त झोलिलो खानेकुरा खानुहोस् । मदिरा कम खानुहोस् । ताजा फलफूल, तरकारी खानुहोस् । दैनिक औषधि खानपर्ने भए खान नबिर्सनुहोस् । अति आवश्यक पर्दाबाहेक कसैलाई घरमा आउन नदिनुहोस् ।

बुढापाकाहरुले घरै बसीबसी के कसरत गर्न सक्छन् ?

पहिले जुन कसरत गरिरहनु भएको छ त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ । यदि पहिले कसरत गर्नुभएको छैन भने अब नयाँ शुरु गर्नुहोला । राम्रो गतिमा दैनिक २० मिनेट हिँड्नु राम्रो शुरुवात हो । १० देखि २० मिनेटसम्म लामो श्वास लिने र हात फैलाउने गर्दा पनि राम्रो कसरत हुन्छ । पाखुरा, खुट्टा तन्काउनुहोस्,जोर्नीहरु खुकुलो बनाउनुहोस् । हरेक क्रियाकलाप शुरु गर्दा लामो श्वास लिनुहोस् र पूर्ववत अवस्थामा ल्याउँदा श्वास छोड्नुहोस् । १०÷२० मिनेट अगाडि निहुरिने र घुँडाले जमिन छुने गर्नुहोस् । सीधा उभिने र पछाडि निहुरिने पनि गर्न सक्नुहुन्छ । अगाडि–पछाडि दुवैतिर १०÷१० पटक निहुरिन सकिन्छ । एक खुट्टामा एक मिनेट र अर्को खुट्टामा एक मिनेट उभिने कोसिस गर्नुहोस् । यसले सन्तुलन मिलाउन सहयोग गर्छ । यदि घरमा नेटफ्लिक्स, अमाजन वा युट्यूब छ भने पिलाटिज़, योगको अभ्यास हेर्दै गर्न सक्नु हुन्छ।

बुढापाकाहरु यस्तो समयमा कसरी मानसिकरुपमा तन्दुरुस्त रहनसक्छन् ?

यदि तपाई अनिदो, चिन्ता, आक्रोश, निराशा, बेचैन हुनुभयो भने झन् समस्या पर्नसक्छ । सम्झनुहोस् सबैलाई समस्या परेको छ । रानीलाई समेत असर परेको छ । तपाई मात्र एक्लो होइन । यो कुरा सजिलो छैन तर हामीसित अरु रोजाइ पनि त छैन । हामीले सकारात्मक सोच्ने कोसिस गर्नुपर्छ । डराउनु हुँदैन । डरले हो समस्या बढाउने । १० जनामा ८÷९ जना त सञ्चो भएर घर फर्किरहेकै छन् । केही कुराका बारेमा वा कसैको बारेमा तपाईले जति चिन्ता लिनुहुन्छ तपाईले चिन्ता लिएर केही हुनेवाला छैन । त्यसैले राम्रो हुन्छ भन्ने आशा गर्नुहोस् । किताब पढ्नुहोस्, पत्रिका पढ्नुहोस् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य इंग्ल्याण्डले कोरोनाबाट बच्न धेरै सूचनाहरु बनाएका छन तर ज्येष्ठ नागरिकसम्मपुगिरहेका छैनन् । यसमा कसरी हामीले सहयोग गर्न सकौँला ?

व्याबहारिक कुराहरु पालना गर्नुहोस् । परम्परागत जीवनयापनका कुराहरु जस्तै प्रशस्त सुत्ने, पोसिलो खानेकुरा खाने, थोरै मात्र रक्सी खाने, चुरोट, खैनी खान छोड्ने । यदि भाषाको समस्या छ भने नेपाली बोल्ने साथी वा छिमेकीलाई सहयोग माग्नुहोस् । जीपीमा नजानुहोस्, फोन गर्नुहोस् । यदि तपाईको केस वर्कर वा सोसल वर्करको नम्बर भए फोन गर्नुहोस् र मद्दत माग्नुहोस् ।

धेरैजसो बुढापाकाहरु, खासगरी गोरखाहरुले नेपालमा छोराछोरीलाई पैसा पठाउनु हुन्छ, नेपालमा पनि लकडाउन भएकाले उनीहरुको चिन्ता गर्नु हुन्छ । उहाँहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ ?

नेपालमा सधैँजस्तै टेलिफोन गरी पैसा पठाउन सक्नुहुन्छ । नेपालमा भाइरसले त्यति नराम्रो गरिसकेको छैन । नेपालको अवस्था चिन्ताजनक छैन । त्यहाँ पनि तपाईका छोराछोरीलाई यहाँ हामीलाई जस्तै घरमै बस्न भनिएको छ । उनीहरु अहिले शायद हामीहरुभन्दा बढी सुरक्षित होलान् । झगडा नगर्नु, धेरै नपिउनु भन्नुहोला । उनीहरुसित टेलिफोन, फेसबुक, भाइबर, ह्वासआपबाट कुराकानी गर्न सक्नुहुन्छ । यदि तपाईसित आधुनिक सुविधा भएको फोन छैन भने फोनबाटै वा अनलाइन किन्न सक्नुहुन्छ । एकपटक प्रयोग भइसकेका फोनहरु यी कामका लागि पर्याप्त हुन्छन् र महंगा पनि हुँदैनन् ।

नेपालीहरु स्वभावैले बर्हिमुखी र सामाजिक हुन्छन् तर हामीलाई घरमै बस्नु भनिएको छ । के हामीले अब हाम्रो पुरानो आदत छाड्नै पर्नेहो त ? कि कोरोना सकिएपछि पुरानै दिन फर्केलान् ?

होइन । हामीले हाम्रो इमानदारिता, खुलापन, सामाजिक अन्तरघुलन, आदरसत्कार, सहयोगी भाव कायम राख्नुपर्छ । यो विश्व संकटको अवस्था हो । केही महिनामा यो सकिन्छ र हामी सबै फेरि खुशी हुनेछौँ । महारानीले पनि यही भन्नुभएको छ ।

अन्य केही सुझाव छन् कि ?

हामीहरु जन्मदेखि नै हिमालको हावा र पहाडको पानी पिएर बलियो छौँ । हामीहरु यो समस्याबाट पार पाउनेछौँ, जसरी विगतमा पायौँ ।