२३ बैशाख २०८१, आईतवार
Follow Us

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७७, बिहीबार ०५:०२

काठमाडौं । आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।

आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले राजधानीदेखि १० किलोमिटर दक्षिण–पश्चिममा रहेको मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा दान गर्ने परम्परा छ ।

तर प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन काठमाडौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला नलाग्ने भएको छ । लकडाउनका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले मेला सञ्चालनमा समस्या भएको चन्द्रागिरी नगरपालिकाले जानकारी दिएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले पनि मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्व लकडाउनका कारण मेला सञ्चालन गर्न नसकिएको बताए । यस अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिने चलन छ । आमा नहुनेहरु भने काठमाडौको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, सिदादान गर्ने परम्परा छ ।

मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वास समेत भक्तजनमा छ । अघिल्ला वर्षहरुमा वैशाख कृष्ण औँसीका दिन माताततीर्थमा लाखौँ भक्तजनको भीड लाग्ने गथ्र्यो ।