२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दूतावास मार्फत निवेदन दिनु सरकारले पैसाँ पठाउछ : श्रममन्त्री यादव

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७७, मंगलवार १०:४४

लण्डन । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारी सुनिश्चितताका लागि नेपाल सरकार सक्षम भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन । उनले कोरोना संक्रमणका कारण सिर्जित वर्तमान परिस्थितीका कारण विदेशमा कोहि पनि नेपाली समस्यामा पर्नु नपर्ने र रोजगारी गुमाउनु परेमा उनीहरुलाई स्वदेशमै व्यवस्थापन गर्न आफुहरु तयार रहेको बताएका हुन ।
उनले विदेशमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीहरुलाई नेपाली सरकारी नियोग मार्फत उद्धार गरिने वताए । यादवले सरकारले श्रम कल्याणकोषमा रहेको अर्बे रुपैयाँ खर्च गरेर भए पनि नेपालीको उद्धार गर्ने सकिने भन्दै नेपाली दूतावास मार्फत पैसाँ निकासाको लागि आवेदन दिन आग्रह गरे ।

वैदेशिक रोजगार पत्रकार समाजले सोमबार साझ आयोजना गरेको भिडियो कन्फ्ररेन्समा बोल्दै मन्त्री यादवले आपत विपत योजना बनाएर नभई एक्कासी आउने र अहिले पनि त्यस्तै अवस्था सिर्जना भएकाले सरकार अविभावकत्वको भूमिका अभाव हुन नदिने गरी लागिपरेको बताए । उनले लकडाउनको यस अवस्थामा कुनै पनि नेपालीले दुःख पाउनु हुदैन भन्नेमा सरकार प्रतिवद्ध भएको र खान बस्न तथा पारिश्रामिकका लागि कुनै समस्या नहोस भनेर सरकारले कामदारहरु कार्यरत मुलुकसँग छलफल गरिरहेको बताए ।

मन्त्री यादवले राष्ट्रपति, प्रधानमन्त्रीका साथै श्रम र परराष्ट्र मन्त्रालयले रोजगारदाता मुलुकको सरकारसँग छलफल गरेर नेपाली कामदारको सुरक्षा, अवसर तथा उनीहरुको सेवासुविधाको सुनिश्चितताका लागि कुराकानी गरिरहेको र कुटनैतिक निकायको समन्वयमा यस्ता छलफल जारी राखिएको बताए । विदेशी भूमिमा नेपालीलाई कुनै समस्या परे समस्या समाधानका लागि वैदेशिक रोजगार बोर्डमा रहेको कल्याणकारी कोषको रकमसमेत प्रयोग गरिने भन्दै उनले यदी रोजगारीविहिन भएर कुनै पनि नेपाली स्वदेश फर्कन्छ भने स्वदेशमै उनीहरुको व्यवस्थापन गर्ने मेकानिजम बनिसकेको पनि दावि गरेका छन ।

अहिले धेरै नेपालीहरु स्वदेश फर्कन चाहेकोमा उनीहरुलाई सम्मानसाथ कसरी ल्याउने र उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने गृहकार्यमा पनि सरकार जुटेको मन्त्री यादवले बताए । मन्त्री यादवले अब विदेशबाट जहिले फर्कने अवस्था सिर्जना हुन्छ त्यसपछि आउने नेपालीहरुलाई अनिवार्य कोभिड–१९ को परीक्षण गरेर कोरोनामुक्त भएको सुनिश्चितता गरेर मात्र आउन आग्रह गरे । साथै विदेशमा कुनै समस्यामा पर्नुनपर्ने र स्वदेश आउन चाहेमा बेरोजगार हुनुनपर्नेमा ढुक्क हुन पनि विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

यस्तै कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले कुवेतमा कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिदै कुवेतमा रहेका नेपालीहरुको समस्या समाधानमा दूतावास सकृय रहेको उनिहरुको बिसयमा नेपाल सरकारलाई जानकारि गराईरहेको बताए । उनले हालसालै मात्र कुवेत सरकारले अवैध आप्रवासीहरुलाई आममाफि दिने कार्यक्रम ल्याएकोमा यसबाट धेरै नेपाली लाभान्वित हुने अपेक्षा पनि गरेको बताउदै लकडाउन खुलेपछि यस कार्यक्रममा सहभागीहरुलाई स्वदेश फर्काउन पहल गरिने बताए । कुवेतमा अहिले करिब ७० हजार नेपाली बैद्य ढंगमा काम गरिरहेको र ७ हजारका हाराहारीमा नेपालीहरु अवैध ढंगमा बसेको अनुमान रहेको राजदूत भण्डारीको भनाई छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले विदेशमा रहेका कामदारहरुसँग वैदेशिक रोजगार व्यवसायीहरु नियमित सम्पर्कमा रहेको र संघले पनि सरकारी निकायसँग समन्वय गरिरहेको बताए ।

भिडियो कन्फ्ररेन्समा वैदेशिक रोजगार पत्रकार समाजमा आवद्ध संचारकर्मीहरु, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ, कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीलगायतले प्रवासमा रहेका नेपालीको सुरक्षाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।