१७ असार २०८१, आईतवार
Follow Us

उत्तर कोरियाली नेता किम जोङ २० दिनपछि सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७७, शनिबार ०५:०९

सिओल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उदघाटन समारोहमा उनी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएका हुन् ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सो कार्यक्रमको तस्बीर सार्वजनिक गरेको हो । समाचारसहित केसीएनएले नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

नेता किमले मल कारखानको उदघाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ । उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ । तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् ।

अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।

त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका थिएनन् । सन् २०११ मा उत्तर कोरियाली सत्तामा आएदेखि उनी कहिल्यै पनि ती समारोहमा अनुपस्थित भएका थिएनन् ।