१७ असार २०८१, आईतवार
Follow Us

अमेरिकाले इबोलाको औषधि ‘रेमडिसिभियर’ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७७, शनिबार ०५:३९

न्यूयोर्क । अमेरिकाले इबोलाको उपचारका लागि प्रयोग हुने औषधि ‘रेमडिसिभियर’ कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्ने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग ‘एफडिए’ले सो औषधि आकस्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न स्वीकृति दिएको हो ।

गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको एफडिएले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेमडिसिभियरले आकस्मिक प्रयोजनका लागि पाएको स्वीकृति कोरोना भाइरसको उपचारमा पहिलो महत्वपूर्ण पाइला भएको बताएका छन् ।

उत्पादकले औषधिको १५ लाख डोज सहयोगमा उपलब्ध गराउनुपर्ने पनि उनले उल्लेख गरेका छन् । अमेरिकामा एक हजार ६३ जनामा परीक्षण सफल देखिएपछि प्रयोगमा अनुमति दिइएको हो । यो औषधि अमेरिकी औषधि उत्पादक गिलियाड साइन्सेजले उत्पादन गरेको हो ।

रेमडिसिभियर कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भएपनि यो म्याजिक बुलेट भने नभएको विज्ञले यसअघि नै स्पष्ट पारिसकेका छन् । औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गर्न भने सहयोग गर्ने बताइएको छ ।

यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ । जसबाट भाइरस शरीरमा विस्तार हुन पाउँदैन ।