१६ बैशाख २०८१, आईतवार
Follow Us

कोरोनाले मृत्यु भएकामा फरक-फरक लक्षण

sarusaru
५ जेष्ठ २०७७, सोमबार ०७:०८

काठमाडौँ — नेपालमा कोभिड–१९ बाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुक्खा खोकी, श्वासप्रश्वास समस्याका साथै निमोनिया देखिएको थियो । आइतबार बाँकेको नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म वान्ता भएको थियो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार महिलाको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो । ‘युवकको थप रिपोर्ट आउन बाँकी छ । प्रारम्भिक जानकारीअनुसार आइतबार बिहान निरन्तर वान्तापछि उनी बेहोस भएका थिए ।’

चिकित्सा इतिहास केलाउँदा महिलालाई कोभिड–१९ संक्रमणले तीव्र गतिमा थला पारेको देखिएको छ । उनलाई स्थानीय अस्पतालमा ‘अक्सिजन’ समेत दिइएको थियो । करिब १० दिनअघि सामान्य प्रसूतिका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदा उनमा मुटु, श्वासप्रश्वासलगायतका कुनै प्रकारका देखिने स्वास्थ्य समस्या थिएन ।

वैशाख २३ गते अस्पतालमा भर्ना भएकी उनलाई २४ गते डेलिभरी गराएर २५ गते डिस्चार्ज गरिएको थियो ।

धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग एवं कोभिड–१९ टास्क फोर्सका डा. सुमनराज ताम्राकारका अनुसार ती महिलामा शिक्षण अस्पतालबाट घर फर्केको ५ दिनपछि सुक्खा खोकी र ज्वरो आउने जाने लक्षण देखिएको थियो । ‘त्यसपछि बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्र जानसम्म सास फेर्न गाह्रो हुन थाल्यो,’ उनले भने ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्यत: भाइरसको सम्पर्कमा आएको २ देखि १४ दिनपछि मानिसमा कोभिड–१९ को लक्षण देखिन सक्छ ।

बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताललाई रेफरल नोटसँगै ती महिलाको एक्सरे रिपोर्टसमेत पठाएको थियो । डा.ताम्राकारका अनुसार ती महिला अस्पतालको गेटमा आउँदै गर्दाको अवस्था गम्भीर थियो । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । ‘मैलै एक्सरे रिपोर्ट हेरेँ । महिलाका दुवै फोक्सोमा निमोनिया देखिएको थियो,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘कारोनाको मुख्य खतरा सास फर्ने गाह्रो हुने र कडा निमोनिया नै हो । नयाँ भाइरस भएकाले विभिन्न भ्रम उत्पन्न हुन्छन्, नयाँ–नयाँ लक्षण देखिन सक्छन् ।’

नरैनापुर क्वारेन्टाइनमा युवकमा देखिएको पेटसँग सम्बन्धित वान्ताको समस्या कोभिड–१९को मुख्य लक्षण होइन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ज्वरो, सुक्खा खोकी र थकाइ कोभिड–१९ का मुख्य लक्षण हुन् । योबाहेक टाउको दुख्ने, नाक बन्द हुने, टाउको दुखाइ, आँखा दुखेर सुन्निने (कन्जक्टिवाइटिस), घाँटी दुख्ने, पखाला लाग्ने, स्वाद वा गन्ध थाहा नपाउने, छालामा बिमिरा आउने, औंला वा खुट्टाका औंलाको रंग बदलिनेजस्ता समस्या आउन सक्छन् । सीडीसीले भने कोभिड–१९ का बिरामीमा चिसो लाग्नुका साथै पेट र आन्द्रा (ग्यास्ट्रोइन्टेस्टाइनल) सम्बन्धी लक्षण जस्तै, वाकवाकी, वान्ता र पखालाजस्ता सामान्य लक्षणसमेत देखिने उल्लेख गरेको छ ।

नरैनापुर क्वारेन्टाइनमा रहेका युवकको ज्वरो, झाडापखाला देखिएपछि मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

डब्लूएचओका अनुसार कोभिड–१९ संक्रमण भएकामध्ये करिव ८० प्रतिशत व्यक्ति अस्पतालको उपचारबिनै निको हुन्छन् । संक्रमित ५ जनामध्ये १ जना गम्भीर रूपले बिरामी पर्छन् । तिनमा सास फेर्न गाह्रो हुने समस्या देखिन्छ ।

‘हामीकहाँ हालसम्म ८० प्रतिशतभन्दा बढी संक्रमितमा कुनै लक्षण देखिएको छैन वा अस्पतालमा उपचार गराउन नपर्ने धेरै मधुरो लक्षण देखिएको छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भने । उनले आइतबार यो संक्रमण निको हुने दर १२ प्रतिशत मात्र देखिएको र मृत्यु दर सय जनामा एक जनाभन्दा कम अर्थात् ०.६८ प्रतिशत रहेको जानकारी दिए ।

वृद्घ, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी समस्या, मधुमेह, क्यान्सरलगायत विभिन्न चिकित्सा समस्या भएकाहरु कोभिड–१९ बाट गम्भीर रूपले बिरामी हुन सक्ने डब्लूएचओ जनाएको छ । डब्लूएचओको सिफारिसअनुसार ज्वरो र सुक्खा खोकीसँगै सास फेर्न समस्या भए, छाती दुखाइ/दबाब वा बोल्न नसक्ने वा हिँडडुल गर्न नसक्ने स्थिति देखिए तुरुन्त स्वास्थ्य निकायमा जचाउनुपर्छ ।

डा. ताम्राकारले गर्भवती, सुत्केरी कोभिड–१९ को जोखिम समूहमा पर्ने बताए । ‘सुत्केरी भएको ६ सातासम्म संक्रमणको दृष्टिले जोखिमपूर्ण समय मानिन्छ,’ उनले भने ।

डा. पाण्डेले सुक्खा खोकीसँगै सास फेर्न गाह्रो भए तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा जान सल्लाह दिनुपर्ने बताए । ‘हामीकहाँ हालसम्म देखिएका मुख्य लक्षण सुक्खा खोकी, ज्वरो र थकाइ नै हुन्,’ उनले भने । उनले कोभिड–१९ को गम्भीरता धेरै हल्का, मध्यम, गम्भीर हुन सक्ने उल्लेख गरे ।

कोभिड–१९ बाट संक्रमित भएकाको संख्या २ सय ९५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ५८ जना महिला र २ सय ३७ जना पुरुषमा संक्रमण देखिएको छ । ३६ जना निको भएर घर फर्केका छन् । संक्रमणको विस्तार २९ जिल्लामा पुगेको छ । प्रदेश–१ मा ३९, प्रदेश–२ मा १ सय २१, वाग्मती प्रदेशमा १७, गण्डकी प्रदेशमा ३, प्रदेश–५ मा १०९ र सुदूरपश्चिममा ५ जनामा कोभिड–१९ देखिएको हो । कर्णाली प्रदेशमा संक्रमित छैनन् ।

मुलुकमा आइतबार पीसीआर प्रविधिबाट १ हजार ४ सय ६९ नमुनाको परीक्षण गरिएको छ । हालसम्म पीसीआरबाट २८ हजार १ सय ६० नमुनाको परीक्षण भइसकेको छ । यस्तै आरडीटी किटबाट आइतबार २ हजार २० नमुनाको परीक्षण गरियो । हालसम्म आरडीटीबाट मुलुकभर ६७ हजार ७ सय ६९ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल देशभरि १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा छन् । यस्तै उपत्यकामा ३५ जना र उपत्यका बाहिर ३ सय ११ गरी मुलुकभरिमा ३ सय ४६ जना आइसोलेसनमा छन् ।

सरकारले निजी तथा सामुदायिक अस्पतालमा आरडीटी किटबाट गरिने परीक्षणका लागि निर्देशिका जारी गरेको छ । मुलुकमा दर्ता भएका अस्पतालले स्वास्थ्य सेवा विभाग वा प्रदेश स्वास्थ्य निर्देशनालयबाट परीक्षणको अनुमति लिनुपर्छ । तर यसरी परीक्षण गर्दा सरकारले स्वीकृत गरेको आरडीटी किट नै प्रयोग गर्नुपर्छ । आरडीटी किटमा खरिद मूल्यको २० प्रतिशतसम्म बढी मात्र शुल्क लिन सकिनेछ ।
कान्तिपुर