२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आज इद उल फित्र, नमाज घरघरमै पढिने

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७७, सोमबार ०५:३८

काठमाडौं । अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने चलन छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण मस्जिदहरुमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् ।

नमाज पढेपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि लकडाउनको नियम नतोडन नेपाल मुस्लिम आयोगले आब्हान गरेको छ । घरमै रहेका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन मुस्लिम अगुवाहरुले सुझाव दिएका छन् ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसवर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो रोजा शुरु भएको थियो ।