२३ बैशाख २०८१, आईतवार
Follow Us

पार्टी सभापति देउवालाई विधान र नियमावली संशोधन गर्न जनसम्पर्क समितिको आग्रह

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार ०८:१३

लन्डन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वभर रहेका नेपाली जनसम्पर्क समितिले विधान र नियमावली संशोधन गर्न आग्रह गरेका छन् । पार्टी जनसम्पर्क समिति संयोजक गोविन्द भट्टराईमार्फत् उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसको पछिल्लो संशोधित बिधान र पार्टीले जारी गरेको नियमावली बमोजिम प्रबासमा रहेका नेपाली काँग्रेसका आस्थावान तथा नेपाली जनसंपर्क समितिमा क्रियाशील सदस्यलाई पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्न र क्रियाशील सदस्यता लिन (नयाँ तथा नवीकरण) का लागि नेपाली नागरिकताको प्रतिलिपी अनिवार्य समाबेश गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

यो व्यवस्थाले बिदेशमा रहेका लाखौं नेपाली कांग्रेसका समर्थक एवम् दोस्रो पुस्ताका प्राय सबै नेपाली युवा युवती पार्टीको सक्रिय सदस्य बन्नबाट बन्चित हुने छन् । १३औं महाधिबेशनमा प्राप्त अधिकारसहित प्रतिनिधित्वको सुनिश्चितता गर्न उक्त धारा निलम्बन गरि सम्पूर्ण देशका नेपाली जनसम्पर्क समितिको अधिवेशन र विधानमा एकरुपताका लागि पत्राचार तथा निर्देशन गरिदिनु हुन अनुरोध गरिएको छ ।

सभापति देउवासमक्ष विश्वभरका नेपाली जनसम्पर्क समितिहरुले ३ वटा बुँदामा आफ्ना माग राखेका छन् ।

– बिदेशमा बस्ने नेपाली जो नेपाली काँग्रेसमा आवद्ध छन र हुन चाहना राख्दछन उनीहरुको तीन पुस्ते नेपाली प्रमाणित हुने सम्पूर्ण गैरआवासीय नेपालीलाई पार्टीको क्रियाशील सदस्यता दिने ।

– नेपाली काँग्रेससँग आवद्ध रही नेपालमा रहँदा होस वा बिदेशमा रहँदा नेपालका युबाहरुको ठूलो हिस्सा बिगतका बर्षदेखि धेरै बिदेसीएको छ त्यो पुस्तालाई काँग्रेसमा सक्रिय भुमिकामा राख्न महादेशस्तरीय एबं अन्तराष्ट्रिय नेपाली जनसम्पर्क समन्वय परिषद निर्माण गर्ने ।

– नेपाली काँग्रेस र नेपाली जनसंपर्क समितिमा लामो समयदेखि काम गरेका सिनियर काँगेसजनहरु मध्यबाट ५ पाँच जना आमन्त्रित केन्द्रिय सदस्यसहित विभिन्न विभागमा प्रतिनिधिको ब्यवस्था गरियोस् ।