३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपालमा थपिए एकैपटक २५० कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ११:०६

काठमाडौं । नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको मन्त्रालयले बताएको छ ।

गण्डकीमा बागलुङ बढी प्रभावित
गत चैत १५ मा बागलुङमा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्कनुभएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भयो ।

उनीहरु चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ विमानबाट सँगै नेपाल फर्केका थिए । अहिले भने कोरोनालाई जितेर दुवै सामान्य जीवनमा फर्किसकेका छन् । दोस्रो सङ्क्रमण पुष्टि भएयता ५५ दिनसम्म जिल्लामा कोरोना देखिएन । ५६औँ दिनमा आएर गत १४ गते तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई युवकमा कोरोना पुष्टि भयो । भारतबाट आइ स्थानीय क्वारेन्टिनमा बसेका बेला उनीहरुमा सङ्क्रमण देखियो ।