२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा पोखरामा झडप

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०९:३८

काठमाडौं । कोरना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचारका क्रममा ती संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।

उनको शवलाई पोखरा महानगरपालिका–३१ मजुवामा रहेको सेतीघाटमा व्यवस्थापन गरिएको छ । सो क्रममा संक्रमणबाट मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नम्बर-३२ का स्थानियले टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।

शव गाड्नका लागि जेसिभिले खाल्डो बनाउँदै गर्दा स्थानीयले प्रदर्शन गरेका हुन् । आन्दोलित स्थानीयहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो केही समय अवरोध समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गर्दा सामान्य झडप समेत भएको थियो । झडपमा केही स्थानीय घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

संक्रमितको मृत्यु भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सेवा आज एक दिनका लागि बन्द गरिएको छ । यसअघि कोरोना संक्रमणबाट १६ जिल्लाका १९ पुरुष र पाँच महिलाको मृत्यु भैसकेको छ । कैलाली र गुल्मीका तीन–तीन जना जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका दुई दुई जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा, बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।