२२ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल भित्रिएका सलह भोलिबाट पश्चिमतिर सर्दै जाने अनुमान

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०६:१६

काठमाडौं । नेपाल भित्रिएका सलहका बथान भोलिबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले पश्चिमतर्फ जाने अनुमान गरिएको हो मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने जनाएको छ ।

शनिबार भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै आजसम्म पहाडी जिल्लाहरुमा समेत फैलिएका छन् । पहाडी जिल्लाहरु सिन्धुली, पाल्पा, मककवानपुर, गोरखा लगायतका क्षेत्रमा सलह देखिएको छ । हिजो बारा पर्सा र सर्लाहीसँगै प्रदेश पाँचको रुपन्देहीमा पनि देखिएको थियो ।

नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्रालयमा विज्ञहरुको बैठक बस्दैछ । कृषि मन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मिलित टोलीको बैठकले सलह नियन्त्रणको योजना घोषणा गर्ने अनुमान गरिएको छ । यसअघि कृषि मन्त्रालयको विज्ञ टोलीले सलह नेपाल प्रवेश नगर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सलह देखिएपछि प्रदेश नम्बर पाँच सरकारले एक किलो संकलन गर्नेलाई २० रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको छ । केही स्थानीय तहले पनि अनुदान घोषणा गरेका छन । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।