२३ बैशाख २०८१, आईतवार
Follow Us

म्याग्दी पहिरोमा बेपत्ता ११ जनाको शव फेला

नेपालब्रिटेन संवाददाता
२७ असार २०७७, शनिबार ०६:०५

म्याग्दी । म्याग्दीमा बर्षासँगै आएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन । धौलागिरी गाउँपालिका, ६ मराङमा १० जना र रघुगंगा गापाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी वस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गापा, ७ विमको दुलेमा विष्णु शर्मा र इच्छा पौडेल समेत ८ जना गरी २३ जना अझै वेपत्ता छन् । शुक्रवार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिवार विहान घट्नास्थलतर्फ गएको छ ।

राहत सामग्री लिएर सेनाको हेलिकप्टर पनि जाने तयारी छ । बाढीपहिरोले ४३ घर पुरिएका छन् । धौलागिरी गाउँपालिका, ६ मराङमा पहिरोमा परि अलपत्र परेका मध्य कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायीक भवनमा राखिएको छ । घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभुत विद्यालयमा राखिएको छ ।