१ जेष्ठ २०८१, मंगलवार
Follow Us

गत एक वर्षमा ३ लाख ६८ हजार ४ सयले श्रम स्वीकृति लिएर

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७७, शुक्रबार ०३:४२

मलेसियामा आकर्षण, युएई जाने धेरै

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)का कारण आर्थिक वर्ष २०७६/०७७काे ४ महिना वैदेशिक रोजगारी ठप्प भएपनि विदेशिनेको संख्या भने बढेको छ। गत ४ महिनादेखि वैदेशिक रोजगारी थला परे पनि आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा आव २०७६/०७७ मा राेजगारका लागि विदेशिनेको संख्या बढेको हो।

आव २०७५/०७६ मा १ लाख ५२ हजार ८ सय ३ जना पुरुष र २० हजार ५ सय ७८ जना महिला गरी जम्मा २ लाख ३६ हजार २ सय ८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कोरोनाको चपेटामा परेको वर्ष २०७६/०७७ मा नयाँ र पुनः श्रम स्वीकृति लिएर ३ लाख ६८ हजार ४ सय ३३ विदेशिएका छन्। जसमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ महिला छन्।

नयाँ श्रम स्वीकृति मात्रै १ लाख ७२ हजार २ सय ४७ पुरुष र १८ हजार २ सय ६ जना महिलाले गरी जम्मा १ लाख ९० हजार ४ सय ५३ जनाले लिएका छन्।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ३२ हजार २ सय २५ बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

अघिल्लो वर्ष नेपाली श्रमिकहरुको सबैभन्दा आकर्षक गन्तव्य मुलुक मलेसिया रोजगारी ठप्प हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको थियो।

२०७५ जेठ २ गतेदेखि झण्डै १७ महिना बन्द भएको मलेसिया खुलेसँगै युवाहरुको आकर्षण पनि बढेको छ। २०७६ भदौको अन्तिम सातादेखि खुलेको मलेसिया रोजगारीका लागि करिब ६ महिनाको अवधिमा ५९ हजार ७ सय १४ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ५८ हजार ५ सय ९१ पुरुष र १ हजार १ सय २३ महिला छन्।

आव २०७६/०७७ मा सबैभन्दा बढी ९३ हजार ४ सय २४ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्। जसमा ८० हजार जनाभन्दा बढी पुरुष र १२ हजार बढी महिला छन्।

युएईपछि नेपाली श्रमिकहरुको आकर्षक मुलुक साउदी अरब बनेको छ। साउदीका लागि ८३ हजार १ सय ६३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि ८१ हजार ५ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतका लागि १६ हजार ८ सय ६२ र अन्य विभिन्न १२७ मुलुकमा रोजगारीका लागि जान नेपालीहरुले श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्ष २०७७/०७८ सुरु भइसकेको छ। तर वैदेशिक रोजगारी ठप्प जस्तै छ। विदामा आएर लकडाउनका कारण रोकिएका श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा पठाउन थालिएको छ। नयाँ श्रम स्वीकृति भने सुचारु गरिएको छैन। कतिपय गन्तव्य देशमा जान तत्कालका लागि प्रतिबन्ध छ भने कोरिया लगायत कतिपय मुलुकहरुले नेपाली श्रमिकहरुलाई डाकीरहँदा पनि अन्तर्राष्ट्रिय उठान ठप्प हुँदा उनीहरु जान सकेका छैनन्।