२९ बैशाख २०८१, शनिबार
Follow Us

सर्वसाधारणमा मास्क प्रयोगका लागि अपिल गर्न ट्रम्पद्वारा अस्वीकार

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०३:५६

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् । फक्स न्यूजसँग कुरा गर्दै उनले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् ।

ट्रम्पले व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा आफू नरहेको समेत बताए । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो भनाई आएको हो ।

मास्कको विपक्षमा रहेका ट्रम्पले गत हप्ता एउटा सार्वजनिक कार्यक्रममा भने मास्क लगाएका थिए । मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ । जर्जिया राज्यका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार भन्दा बढी पुगेको छ । एक लाख ३९ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।