१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री ओलीलाई सभापति देउवाले भने- बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार तीब्र बनाउ

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७७, बिहीबार ०९:३७

काठमाडौं । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार कार्य तीब्र बनाउन आग्रह गरेका छन् । सभापति देउवाले १२० दिन लामो लक डाउन खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री ओलिसँग भेट गरी यस्तो आग्रह गरेका हुन् ।

लक डाउनका बावजुद संक्रमितको संख्या २० हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लक डाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि सभापति देउवाले नेपाली कांग्रेसका तर्फबाट आग्रह र माग गरेका हुन् । उनले परिक्षण पीसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे ।

यस्तै बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहिन भएको हुँदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गरे ।

कोरोना सिर्जित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।