१९ बैशाख २०८१, बुधबार
Follow Us

सजाय घटाइदिने सर्वोच्चको फैसलाविरूद्ध नेपाल सरकारको पुनरवलोकन निवेदन

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७७, बिहीबार १५:५४

काठमाडौ । हत्या आरोपी सशस्त्र प्रहरी बलका पूर्व डीआईजीको सजाय घटाइदिने सर्वोच्च अदालतको फैसला विरूद्ध सरकारले पुनरवलोकन निवेदन दर्ता गराएको छ ।

आफ्नी श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले आज सर्बोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गराएको हो । त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्याभन्दा फैसला फरक भयो भने पुनरवलोकन निवेदन दिनसक्ने कानूनी ब्यवस्था छ ।

सोही ब्यवस्थालाई टेकेर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको हो । सर्वोच्च अदालतले जघन्य अपराधमा दोषी पाइएका कोइरालाको सर्वस्वसहित जन्मकैद सजायलाई गत असार दोस्रो साता घटाएको विषयमा आलोचना हुँदै आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उक्त फैसला गरेको थियो । सर्वोच्चको पछिल्लो निर्णयका आधारमा कोइराला भने आजै जेलमुक्त भैसकेका छन ।

कोइरालाले करिब ८ वर्षअघि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी मकवानपुरको जङ्गलमा पु¥याएर जलाएका थिए । उनलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।