१९ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वडीआईजी कोइरालाको सजाय घटाइदिने फैसलामा संलग्न न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार ०४:०८

काठमाडौं । पूर्व प्रधाननमन्त्री डाक्टर बाबुराम भट्टराईले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाइदिने फैसलामा संलग्न न्यायाधीशलाई महाअभियोग लगाउन उनले प्रस्ताव गरेका हुन् ।

सर्वोच्चको फैसलाबाट कोइराला हिजो रिहा भएपछि भट्टराईले आज ट्वीट गर्दै संसद बैठक बोलाएर अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । जघन्य अपराधमा दोषी पाइएका कोइरालाको सर्वस्वसहित जन्मकैद सजायलाई गत साता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले घटाएको थियो ।

नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । देश गम्भीर संकटतिर जान लागेको ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय खोज्नुपर्ने भट्टराईको भनाइ छ । ट्वीटमा उनले संसद अधिवेशन बोलाउन, ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।

त्यस्तै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि न्यायालयमाथि राजनीतिक हस्तक्षेपले अहिलेको अवस्था आएको बताएका छन् । उनले ट्वीट गर्दै न्याय मर्नु मानवता मर्नु बराबर भएको उल्लेख गरेका छन् ।

नेकपा सांसद विशाल भट्टराईले पनि महाअभियोगको माग गरेका छन् । राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक खिमलाल भट्टराईले प्रधानन्यायाधीशबाटै न्यायको हत्या भएको बताएका छन् ।