१६ बैशाख २०८१, आईतवार
Follow Us

सेनाको कुटाईबाट मारिएका युवकको शव उठेन

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७७, आईतवार १३:१३

काठमाडौ । सेनाको कुटाईबाट चितवनमा मारिएका चेपाङ युवकको शव अझै उठ्न सकेको छैन । बुधबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पूर्वीचितवन राप्ती नगरपालिका मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ । पीडित परिवारले शव बुझ्न नमानेपछि उनको शवको पोष्टमार्टम भएको छैन ।

पीडित परिवारले माग पुरा नगरेसम्म शव नउठाउने अडानमा छ । कुटपिटमा संलग्न सेनालाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकको बच्चाको भविष्य सुरक्षित गर्नुपर्नेलगायतको माग परिवारको छ । मृतकका बुवा विष्णुलाल चेपाङले सेनाले कुटीकुटी आफ्नो छोरालाई मारेकोले दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन । परिवारको साथमा रहेर नेपाल चेपाङ संघले आन्दोलनाई अघि बढाइ रहेको छ ।

संघकै नेतृत्वमा पटकपटक जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएको छ । तर कुनै निष्कर्षमा पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले परिवारको किटानी जाहेरीका आधारमा घटना बारे प्रहरीले अनुसन्धान सुरु अघि बढेको जानकारी दिए । परिवारले सेनाका एक जवानको कुटाइबाट मृत्यु भएको किटानी जाहेरी दिएको छ ।