२३ बैशाख २०८१, आईतवार
Follow Us

सुन भएको झोला फाल्ने तीन जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०७:२८

काठमाडौं । प्रहरीले कमलादीमा सुन भएको झोला र पेस्तोल फालेर हिँड्ने तीन जनालाई नवलपरासीको दुम्किवासवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।

महानगरीय अपराध महाशाख र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा उनीहरु पक्राउ परेका हुन । पक्राउ परेका तीनजनाबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । सुन फालेर भागेको बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो जीप भने फेला परेको छैन । प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पुगेको बताइएको छ ।

उता प्रहरीले घटना अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी परिसरबाट खोसेर अपराध महाशाखालाई दिएको छ । सुन सुन्धारामा बरामद भएको तर घटनास्थल परिवर्तन गरेर कमलादी देखाएको खुलेपछि अनुसन्धान टोली नै फेरिएको हो ।

प्रहरीले एसएसप सुशील यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको छ । यसअघि अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।