१९ बैशाख २०८१, बुधबार
Follow Us

तीज आजबाट सुरु

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७७, बिहीबार ०६:२४

काठमाडौं । हिन्दु नेपाली महिलाले मनाउने चाड तीज आजबाट शुरु भएको छ । तिज अन्र्तगत आज विभिन्न मीठा परिकारका साथ दर खाने गरिन्छ । तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ ।

दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । दर खने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ ।