२२ बैशाख २०८१, शनिबार
Follow Us

पर्वतमा अलपत्र कालीगण्डकी कोरिडोरको काम भदौभित्र सकिने

sarusaru
८ भाद्र २०७७, सोमबार १०:२२

पर्वत– सम्झौताअनुसार २०७५ जेठ २१ गतेभित्रमा ट्रयाक खोलिसक्नुपर्ने कालीगण्डकी कोरिडोरअन्तर्गत फलेवास–अर्मादी सडकखण्डको काम भदौ महिनाभित्र हुने भएको छ ।
आयात निर्यात, छोटो यात्रा तथा उत्तरमा चीन र दक्षिणमा भारत छुने भएकाले व्यापारिक हिसाबले पनि पर्वतको ‘लाइफलाइन’ का रूपमा लिइएको कोरिडोरको पर्वत खण्डमा पर्ने फलेवासदेखि अर्मादीसम्मको दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो ।
कोरिडोर गाईघाट–मालढुंगा आयोजना कार्यालयका अनुसार सडक निर्माणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक ओपन सक्नेगरी काम सुरु गरेको छ । २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र रहेको थियो ।
पछिल्लो समय कोभिड १९ का कारण आगामी पौषसम्म म्याद थप गरिएको छ । म्याद थप भएसँगै काम सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले बताए । ‘फलेवासदेखि अर्मादीसम्मको १४ किलोमिटरको काम हो । त्यो मध्येको करिब २ सय मिटर ट्रयाक ओपन गर्न बाँकी रहेको थियो’ उनले भने, ‘सडक खण्डमा मोदीबेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुल पारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।’
कोरिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । कोरिडोर कार्यालयका साइड इन्चार्ज इन्जिनियर अर्जुन नेपालीका अनुसार, पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीबेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमीमा सडक कालोपत्रेको टेन्डर भैसकेको छ भने सेतीबेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेवाससम्मको २२ किमी सडक स्तरोन्नतिको काम सकिएको छ ।
सडकको ट्रयाक खुलेपछि पर्वतको मालढुंगादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किमीमा सोझै सवारी चल्ने छन् । यो आर्थिक वर्षभित्र मोदी, लमाए, सेती र आँधीखोलामा निर्माणाधिन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम भइरहेको छ ।