काठमाडौं । बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैया मुक्त भएको आज पच्चिस वर्ष पुगेको छ ।
२०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको दिनका रुपमा आज विभिन्न कार्यक्रम हुँदैछन । कमैया मुक्तिको खुसीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन् ।
मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिएका छन् । कमैया मुक्त घोषणा भएको लामो समय वितिसक्दा पनि कमैयाहरु पुर्नःस्थापना हुन सकेको छैन ।
सरकारले कमैया मुक्त गरेपनि कमैयालाई पुनःस्थापना, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, जमिनको व्यवस्था गर्न नसकेको गुनासो पीडितको छ । सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार ५०० कमैयालाई मुक्त घोषणा गरेको थियो ।
मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुर्नस्थापना हुन सकेको छैन ।