२३ बैशाख २०८१, आईतवार
Follow Us

कोभिडका लागि जम्मा २९ जना विशेषज्ञ

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७७, मंगलवार ०४:१७

आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्वअध्यक्ष प्राडा सुवास आचार्य भन्छन्– हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण गरेर दिएको प्रतिवेदन पनि सरकारले दराजमा थन्क्याएको छ ।

कोभिड महामारीका वेला सरकारले पर्याप्त आइसियू भेन्टिलेटर व्यवस्था गरेको छैन भनेर आलोचना भइरहेको छ । तर, भएका भेन्टिलेटर चलाउन पनि जनशक्ति अभाव छ । अहिले देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर सरकारले कोभिड संक्रमितको उपचारका लागि छुट्याएको छ । तर, ती सञ्चालन गर्ने पर्याप्त जनशक्ति भने छैन ।

आइसियू सञ्चालनका लागि क्रिटिकल केयर ‘सुपर स्पेसलिस्ट’ नेतृत्वमा टिम चाहिन्छ । तर, अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालमा ‘क्रिटिकल केयर’को दरबन्दी नै सिर्जना गरिएको छैन । एनेस्थेसियाका चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

क्रिटिकल केयर स्पेसलिस्ट तथा नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका पूर्वअध्यक्ष प्राडा सुवास आचार्यका अनुसार एक क्रिटिकल केयर सुपर स्पेसलिस्टले आठदेखि १० बेडको नेतृत्व गर्न सक्छ । यो हिसाबले सरकारले कोरोना संक्रमितको उपचारका लागि छुट्याएका नौ सय ८४ आइसियू बेड सञ्चालनका लागि मात्रै पनि करिब ९८ जना ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’ चाहिन्छन् ।

क्रिटिकल केयर सुपर स्पेसलिस्ट नभएका ठाउँहरूमा वा त्यस अवस्थामा ‘एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट’ले पनि बिरामी हेर्न सक्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा सातजनाको छ । त्यस्तै, ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’को नेतृत्वमा एनेस्थेसियोलोजी वा आइसियूमा काम गर्ने इन्टरनल मेडिसिन स्पेसलिस्ट दुईजना अनिवार्य चहिन्छ । यस्ता विशेषज्ञ एक सय ९६ आवश्यक पर्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा २२ जनाको मात्रै छ ।

अहिले देशभर सरकारी सेवामा एनेस्थेसियोलोजिस्टमा ८० जनाको मात्र दरबन्दी छ । तर, त्यसमा जम्मा सातजनाले क्रिटिकल केयरको नेतृत्व गरेका छन् । उनीहरूको नेतृत्वमा २२ जनाले काम गरिरहेका छन् ।

नेपालका स्वास्थ्य सेवामा क्रिटिकल केयरमा कति जनशक्ति चाहिन्छ भनेर सरकार आफैँले अहिलेसम्म कुनै अध्ययन र प्रक्षेपण गरेको छैन । चिकित्सकहरूले अध्ययन गरेर दिएको प्रतिवेदन पनि सरकारले कार्यान्वयन गरेको छैन । ‘संस्थाको तर्फबाट आइसियूमा चाहिने जनशक्तिको प्रक्षेपण रिपोर्ट चार महिनाअघि मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई बुझाएका थियौँ, तर उक्त रिपोर्ट हालसम्म पनि सार्वजनिक गरिएको छैन,’ संस्थाको पूर्वअध्यक्ष आचार्यले भने, ‘त्यति मात्रै होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई वर्षदेखि क्रिटिकल केयरको दरबन्दी सिर्जना गर्न भन्दै एसोसिएसनले दबाब दिइरहेको छ । तर, सुनेको–नसुनेझैँ गरेको छ ।’