२५ बैशाख २०८१, मंगलवार
Follow Us

रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०९:०६

काठमाडौं । रुपन्देहीमा आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने दुई जना सिद्धार्थनगरका र एक जना बुटवलका छन् । उनीहरुमध्ये दुई जनाको अस्पतालमा र एक जनाको घरमै मृत्यु भएको हो ।

सिद्धार्थनगर आठका मिर्गौलाका बिरामी डायालिसिस गराउन अस्पताल जाने तयारी गरेका पैतालिस वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचार गराएर आएका उनीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका दश रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको छ । उनी भदौ चार गते अस्पताल भर्ना भएकी थिइन् । उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । बुटवल–८ मिलनचोक निवासी संक्रमितको नौ दिनदेखि अस्पतालमा उपचार भैरहेको थियो । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।