२५ बैशाख २०८१, मंगलवार
Follow Us

जाँदाजाँदै अर्थमन्त्री डा. खतिवडाले के भने ?

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १२:२८

काठमाडौं । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएको घोषणा गरेका छन् । उहाँले पत्रकारको उपस्थितिमा आफू मन्त्रालयको नियमित कामकाजबाट बिदा भएको घोषणा गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा करिब २० मिनेट पत्रकारहरुलाई सम्बोधन गर्दै डा. खतिवडा बिदाइ हुनुभएको हो ।

उहाँले सञ्चार मन्त्रालयको जिम्मेवारी आफ्ना लागि नयाँ भएको बताउनुभयो । ‘आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधि नबुझ्ने त होइन, तर यो मन्त्रालय सम्हालुँला र सरकारको प्रवक्ता हुन्छु भन्ने कल्पना गरेको थिइनँ,’ उहाँले भन्नुभयो, ‘सञ्चार मन्त्रालयको जिम्मेवारी अनपेक्षित थियो ।’

तत्कालीन मन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले २०७६ साल फागुन ११ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले अर्थ मन्त्रालयमा दुई वर्ष ६ महिनाभन्दा बढी र सञ्चार मन्त्रालयमा ७ महिना जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

मन्त्री खतिवडाले सूचना प्रविधि बिना विकासका कामहरु अब असम्भव रहेको बताउनुभयो । ‘टेली मेडिडिन, अनलाइन शिक्षा कुनै समय फेसनकोरुपमा थियो,’ उहाँले भन्नुभयो, ‘अब अनिवार्यजस्तै भएको छ ।’

सिंहदरबारभित्रै सूचना आदान प्रदानमा समय लाग्ने गरेको भन्दै बताउँदै मन्त्री खतिवडाले सूचना प्रविधिको विकास गर्न सकिए उहीबेला सूचना पुर्‍याउन सहज हुने उल्लेख गर्नुभयो ।

मन्त्री खतिवडाले आफूले मन्त्रालयमा रहँदा कतिपय विषयमा विधि बसाउने प्रयास गरेको बताउनुभयो । उहाँले व्यक्तिगत अभिष्टका लागि कुनै निर्णय नगरेको दाबी गर्नुभयो ।