काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय एक जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या ५३ हजार १२० पुगेको छ । उनीहरूमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना सङ्क्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३३६ पुगेको छ ।
कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।
आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताउनुभयो । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।