२६ बैशाख २०८१, बुधबार
Follow Us

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार ०५:५५

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिनुभयो ।

यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताउनुभयो ।

यस्तै डडेल्धुरा जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पु-याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिएनुभयो । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।