२० बैशाख २०८१, बिहीबार
Follow Us

बडादशैंको आठौं दिन आज महाकालीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७७, शनिबार ०७:४७

काठमाडौं । नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ ।

आज दशैंघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । राति कालरात्रिका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ । पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।

यसपालि कोरोना भाइरसको संक्रमणका कारण हरेक शक्त्तिपीठमा बलि निषेध गरिएको छ । कुनै कुनै शक्त्तिपीठमा सांकेतिक बलि दिइए पनि यसपालि सामूहिक बलि हुने छैन । त्यस्तै सरकारले देशभरिकै शक्त्तिपीठ सार्वजनिकरुपमा खोल्न पनि अनुमति दिएको छैन ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ महाअष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री लगायतका देवीहरूको पूजाआजा गरिन्छ ।

विगतमा काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली लगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्ने गरेपनि आज भने सुनसान जस्तै छन् ।

यसैगरी कोरोना त्रासले उपत्यका बाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरु कम मात्रै पुगेका छन् ।