२३ बैशाख २०८१, आईतवार
Follow Us

युरोपमा कोरोनाका कारण दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७७, बुधबार ०४:५३

लन्डन । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस् र रुसमा धेरै संक्रमित देखिएको बताइन् ।

उनका अनुसार युरोमा संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको छ । बिरामी मानिसले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेको भन्दै उनले चिन्ता समेत व्यक्त गरेकी छिन् ।

रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक संख्या बनेको छ । इटलीमा विगत २४ घन्टामा २ सय २१ जनाले ज्यान गुमाएका छन् । अस्ट्रियामा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

अमेरिका, भारत, ब्राजिलपछि धेरै संक्रमित रुसमा छन् । मंगलबार मात्रै त्यहा १६ हजार ५ सय ५० संक्रमित थपिएका छन । इटलीमा एकै दिन २२ हजार नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियममा विरामीको चाप बढेपछि संक्रमित चिकित्सकलाई समेत काममा आउन भनिएको छ । बेल्जियममा मंगलबार मात्र १२ हजार ६ सय ८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ ।

यसबीच बेलायतको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बीचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको जनाएका छन । संक्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटनुलाई चिन्ताको विषय मानिएको छ ।